

काठमाडौं :
नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। फिल्मले ५१ औँ दिनको सफलतासँथै खुशी साटेको हो। शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरे।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिनुका साथै गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि चलचित्रमा समावेश गीत ‘रात किन हुन्छ’गाएर सुनाए। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो। सो अवसरमा चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए।

गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो । चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले बतए। उनले नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक चलचित्र बनेको जिकिर गरे ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।














