

काठमाडौं :
सिनेमा ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्राण्ड प्रिमिएर सम्पन्न भएको हो।
नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडीमा छायांकन भएको सिनेमा हो। मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला,नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
सिनेमा हेरेपछि अधिकांशले ‘जार’को तारिफ गरेका छन्। संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ । सिनेमामा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको सिनेमा ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको बताउँदै त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो सिनेमा हेर्नु पर्ने सुझाव दिए।

‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि सिनेमा हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज सिनेमामा हेर्न पाउँदा निकै आनन्द आयो।’
यो सिनेमाकी गायिका एवम् संगीतकार झुमा लिम्बुको गीत संगीतको पनि डा. भट्टराईले खुलेर प्रशंसा गरे। साथै उनले यो सिनेमालाई राज्यले कर छुट गर्नु पर्ने बताए।
यस्तै, ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक सिनेमा लागेको बताए। राम्रो काम गरेकोमा जारको टिमलाई बधाई दिँदै राम्रो सिनेमा निर्माणको उदाहरण ‘जार’ भएको उनले बताए । यो सिनेमाले सामाजिक सन्देश दिएको पनि बताए। उनले यो सिनेमा हेर्न पनि दर्शकलाई आग्रह गरे ।
अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली सिनेमाको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट सिनेमा दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो। यसले हाम्रो इतिहास र साहित्यलाई सिनेमाको माध्यमबाट जीवन्त बनाएको छ। प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’
अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली सिनेमाको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् । नेतृ हिसिला यामीले सिनेमा जार अहिलेको समसामयिक सन्दर्भको सशक्त सिनेमा भएको बताइन्। अहिले आर्थिक राजनीतिक समस्या नै नेपाली युवा युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताइन्। अहिले हजारौँ युवतिहरू एयरपोर्टबाट विदेशतिर लखेटिने गरेको पनि उनले बताइन् । अहिलेका सरकारमा रहेकाहरूले यो सिनेमा हेरेर केही कुरा सिक्न पनि उनले सल्लाह दिइन्।
निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमामा नयाँ उचाइ भएको प्रतिक्रिया दिएका छन् ।
‘पेन्टिङजस्तो फ्रेम, जीवन्त साउन्ड डिजाइन, मौलिक संगीत, गहिरो अभिनय, यी आँखा र कानले महसुस गर्ने पाटोहरू त प्रशंसनीय छन् नै, त्यसबाहेक फिल्ममा मुटु र दिमाग हल्लाउने सामथ्र्य छ । ’जार’ले नेपाली फिल्मको कलात्मक उचाइ अग्लो बनाउन एउटा महत्त्वपूर्ण इट्टा थप्ने काम गरेको छ । यसअघि ’साम्बाला’ र अहिले ’जार’ले भित्रैदेखि सन्तुष्टि दिएको छ । एउटा लोभलाग्दो र ईष्र्यालाग्दो काम हो ’जार’,’ उनले भने।
प्रिमियरमा उपस्थितले निर्देशक लामा र कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही तथा गितान्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे ।
प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको सिनेमामा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुने भन्दै आफूले मौका पाएको उनले खुसी व्यक्त गरे। उनले भने, ‘एकदमै नछुटाउने खालको सिनेमा बनेको छ। यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो। कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो सिनेमा गरिसके जस्तो लाग्थ्यो। त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए । धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ । मैले पाएँ । खुसी छु ।’
त्यस्तै, अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने, ‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौँ । हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’
१८०० को दशकको वास्तविक घटनामा आधारित यो सिनेमा आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।
वैशाख २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यस सिनेमा २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको कथा हो। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
सिनेमा ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ ।
सिनेमा ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे,नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको सिनेमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
सिनेमा नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।














