

काठमाडौं :
शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर भएको छ। बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको हो। उक्त सिनेको प्रिमियरमा एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
प्रिमियर कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थिया । सिनेमा युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नवीन चौहानलगायतको सहभागिता रहेको देखिन्थ्यो।

सिनेमा हेरेपछि अतिथिहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन्। सिनेमा हेरिसकेपछि उपसभामुख मगरले सिनेमाले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताईन्। उनले सिनेमा हेरेपछि भनिन्,‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ।’ अभिनेता दयाहाङ राईले सिनेमालाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए। सांसद शोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक बताइन्। अभिनेत्री केकी अधिकारीले‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन्।
विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन्। एलेक्स पारसले पहिलो सिनेमाबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए। परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन्। गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि सिनेमा दर्शकको जिम्मामा रहेको बताए। निर्देशक नवीन चौहानले भने,‘प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ । यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो छ।’
सिनेमा ‘ऊनको स्वीटर’को अग्रिम टिकट बिक्री देशभरका सिनेमा घरहरूमा सुरु भइसकेको छ। वितरक गोविन्द शाहीका अनुसार देशभर ३०० भन्दा बढी शो प्राप्त भएका छन्, जुन सिनेमाको व्यापारको लागि उल्लेख्य सङ्ख्या हो। सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले सामाजिक सञ्जालमा उल्लेखनीय लोकप्रियता पाइरहेका छन्। ट्रेलर र टिजरमार्फत सिनेमाले पहिल्यै दर्शकको ध्यान तानेको छ।
आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको सिनेमा ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर,परीक्षा लिम्बु,एलेक्स पारस,विल्सन विक्रम राईसँगै सुनिल पोखरेल,माओत्से गुरुङ,प्रेम सुब्बा,सुरज तमु,शारदा देवी सिलवाल,भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ। पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको सिनेमाले नेपाली समाजको विविधता र प्रेमकथा समेट्ने प्रयास गरेको निर्देशक चौहान बताउँछन्। यस सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ।














