

काठमाडौँ :
शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जार’को भारतका विभिन्न ठाउँमा प्रदर्शनका लागि माग भएको छ। निर्माण पक्षका अनुसार यो सिनेमाका लागि भारतका सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शन भएपछि अन्य ठाउँमा पनि दर्शकले प्रदर्शनका लागि आग्रह गरेका हुन्।
सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको छ।
यस सिनेमाकी कार्यकारी निर्माता ज्योती क्षेत्रीका अनुासर दार्जीलिङमा पनि शोज थप भएको छ। हाल प्रदर्शनमा आएका सबै शहरमा सिनेमाको उच्च माग देखिएको छ। ‘सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ’,निर्माता क्षेत्रीले भनिन्,‘दर्शकले ‘जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं।’
उनले दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा पनि सिनेमा प्रदर्शनको क्रममा रहेको जानकारी दिइन्। नेपालका हलमा सिनेमाका मुख्य कलाकारसहितले दर्शको प्रतिक्रिया लिइरहेका छन्। शुक्रबार रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए।

सिनेमाले उठाएको कथावस्तु, विजिएम, सिनेमाटोग्राफी, कलाकारहरूको अभिनयकला,निर्देशकीय पक्षलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ। निर्देशक फुर्वाछिरिङ लामा र सिनेमाटोग्राफर सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई र राम्रो सिनेमा प्रदान गरेकोमा धन्यवाद दिए।
यसैबीच दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन्। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित जारलाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन्।
‘नेपाली समुदायको इतिहास बोल्ने धेरै कथाहरू अहिलेको पुस्ताले थाहा पाउन जरुरी छ, भोलीको दिनमा पनि ऐतिहासिक दस्तावेज बन्नसक्ने सिनेमाहरु बनाउँदै जानु भन्ने शुभकामनासहित दर्शकले हलमै उपन्यास उपहार दिनुभयो’, निर्देशक लामाले भने।
दर्शक र समिक्षकबाट प्राप्त प्रतिक्रियाले खुशी बनाएको भन्दै निर्देशक लामाले यो प्रकारको साथ भोलीको दिनमा पनि निरन्तर पाउने अपेक्षा राखे । सिनेमामा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन्। अखिलेश राईको सम्पादन रहेको सिनेमाको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। नेपालमा यो सिनेमालाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले प्रदर्शन तथा वितरण गरेको छ।














