

काठमाडौं । भोलीबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ। यस सिनेमाको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला गरिएको हो।
सिनेमाले अधिकांश हलमा उच्च शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट काठमाडौंमा २५ शो,उपत्यका बाहिर २२ शो पाएको छ। क्यूएफएक्सका आउटलेटमा ४७ शो दिएको छ।
आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ। वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ।
यस्तै हाराहारीमा अन्य मल्टिप्लेक्सले ‘के घर के डेरा : घर नं २’लाई शो उपलब्ध गराएका छन्। सिनेमाका वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिए। उनका अनुसार आज र भोलि बिहान सम्ममा देशभरका हलहरूको शो यकिन तथ्यांक आउने बताए। दीपेन्द्र के खनालले निर्देशन यो सिनेमाले राम्रो हाइप बनाएको कारण राम्रो व्यापार गर्ने निर्माणपक्षको विश्वास छ।

सिनेमामा खगेन्द्र लामिछाने,निश्चल बस्नेत,उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे,श्रृजना नापित, संजोग रसाइली,रुविना घिमिरे,सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।
सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो। यस सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट,ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ भने सिनेमाको कार्यकारी निर्मातामा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।














