

काठमाडौं :
पन्द्र वर्षको उमेरमा नै फिल्म निर्मात्री बनेर चर्चामा आएकी हुन् कृषा चौलागाइँ । आमासँग मागेको पैसा र फिल्म वितरकको सहयोगमा उनले पहिलो फिल्म ‘इन्साफ’ निर्माण गरिन्। त्यो पनि त्यस समयमा चलेका कलाकार राजेश हमाल र निखिल उप्रेतीलाई राखेर। पहिलो फिल्म नै हिट भयो। उनलाई यसै फिल्मबाट निर्माणमा थप हौसला मिल्यो। त्यसपछि उनले ’कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास’ जस्ता फिल्म निर्माण गरिन्।
निर्माताको रुपमा उदाएकी कृषाले २ वर्षअघि फिल्म ‘ऐचो पैचो’मार्फत निर्देशनमा हात हालिन्। निर्माता हुँदै निर्देशकमा हात हालेकी कृषाले पछिल्लो समय उहीँ स्टार कलाकार राखेर आफैले एक्सन फिल्म ‘पिताम्बर’निर्माण गरिन्। जुन गत चैतमा प्रदर्शनमा आएको थियो। यो फिल्मबाट उनले आफलाई लेडि टाइगरको रुपमा उभ्याउन सफल भइन्। धेरैले उनलाई यो फिल्मबाट निर्देशकिय पक्षबाट तारिफ गरे। फिल्मले घरेलु बक्स अफिसमा समेत राम्रै सफलता दिलाउन सफल भयो। ठुलै बजेटमा निर्माण भएको यो फिल्मबाट निर्मात्री कृषा चौलागाइँलाई निर्देशकका रुपमा समेत स्थापित गराउन सफल भयो।

एक्सन फिल्म निर्माणमा प्रशंसा पाएकी कृषाले घर बाहिरी ब्यानरबाट अब फिल्म निर्देशन गर्ने भएकी छन्। हालै जापानमा भएको फिल्म फेस्टिभलमा पुगेकी कृषाले नयाँ फिल्मका लागि समेत साइन गरेकी छन्। जुन कुरा उनले सामाजिक सञ्जालमा उल्लेख राखेकी छन्।
कृषाका अनुसार उनले निर्देशन गर्न लागेको फिल्म यूएनए प्रोडक्सनको हो। यूएनए प्रोडक्सनका प्रमुख तथा जापान वितरक उज्ज्वल गुरागाँई र निर्देशक कृषाबीच कागजी सम्झौता भएको हो। उनीहरुले फिल्मको कलाकार नेपाल बाहेक अन्य मुलुकको समेत राख्ने बुझिएको छ। फिल्ममा नेपालका कलाकारसँगै भारत र फिलिपिन्सका कलाकारले पनि अभिनय रहने छ। त्यसका लागि मुख्य अभिनेत्रीको टुंगो लागिसकेको छ। कृषाले आफ्नो फेसबुकमा कलाकार को हुन चिन्नुहोस् त भनेर राखेकी छन्।
आगामी भदौ महिनाबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ। नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भइसकेको यो फिल्ममा नाम चलेका कलाकारहरुले नै अभिनय गर्नेछिन्।














