The Cinemax Hub

बक्सअफिसमा सर्वाधिक कमाउने सिनेमा बन्यो ‘कबड्डी ४’

Facebook
Twitter
WhatsApp

 रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले बक्सअफिमा नयाँ रेकर्ड कायम गरेको छ । प्रदर्शनको दुई हप्तामा सिनेमाले १८ करोड ७८ लाख कमाएको जानकारी दिइएको थियो । तेस्रो हप्ताको सप्तान्हसम्म सिनेमाले २० करोडमाथि कमाई गरेको निर्माण पक्षको जानकारी दिएको छ ।

मंगलवार सर्वाधिक कमाई गर्ने सिनेमा भन्दै निर्माण टिमले २० करोड ग्रस कलेक्सन सहितको एक पोस्टर जारी गरेको छ । सिनेमा नेपालमा जेष्ठ १३ गतेबाट प्रदर्शनमा आएको थियो । नेपाली सिनेमाको इतिहासमा सर्वाधिक कमाउने सिनेमाको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । यो सिनेमाले बक्सअफिसमा २० करोड कमाएको दाबी दीपकराज गिरीले गरेका थिए ।

आजबाट २० करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली सिनेमा बनेको छ । यो सिनेमा तेस्रो हप्तामा पनि मल्टीप्लेक्समा उच्च शोजसहित हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । ‘कबड्डी ४’लाई ‘कबड्डी’ ब्रान्डको अन्तिम सिरिज भनेर प्रचार गरिएकाले सिनेमाले कमाईमा उछाल ल्याएको कतिपय सिनेमाकर्मीको विश्लेषण छ । तर, निर्माण टिमले आफुले राम्रो सिनेमा निर्माण गरेकाले यो सफलता हात पारेका दाबी गरिरहेको छ ।

सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । सिनेमाको कथा रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । अब रामबाबुले ‘कबड्डी’ सिरिजलाई विट मार्दै ‘मास्टर बमकाजी’को निर्माण घोषणा गरिसकेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /