महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको सिनेमा ‘महापुरूष’को दोस्रो पोस्टर सार्वजनिक गर्दै डेब्यू अभिनेता अरुण क्षेत्रीलाई चिनाइएको छ । पोस्टरमा अरुण खुसी भावमा बाइक कुदाउँदै देखिएका छन् । उनको पछाडि हरिवंश छन् । स्पीड ब्रेकरमा बाइकको अगाडिको भाग माथि उठेपछि हरिवंश लड्न खोजेको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । अरुणले सिनेमामा विज्ञानको भूमिका निर्वाह गरेका छन् । सिनेमामा उनी हरिवंशको कान्छा छोराको रुपमा छन् ।
अडिसनबाट सिनेमामा छनौट भएका उनले भने, ‘मैले सिनेमामा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र सिंह बानियाँ दाई र प्रदीप भट्टराई दाईसहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा उत्साहित छु ।’ कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा महजोडी र अरुणका अलावा गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाललगायतको अभिनय रहेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्मित सिनेमामा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रुपमा दिपेश खत्री छन् ।
सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । नवराज पराजुलीले लेखेको गीतमा संगीत ऋदम कँडेलको छ । सिनेमाको लेखन निर्देशक भट्टराई स्वयंको हो । समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिप्रति सिनेमाले व्यंग्य गरेको छ ।