The Cinemax Hub

असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली सिनेमा ‘प्रेमगीत ३’को टिमलाई सम्मान

Facebook
Twitter
WhatsApp

चलचित्र विकास बोर्डले असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली सिनेमा ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको छ । आज विकास बोर्डमा आयोजना गरिएको कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले सिनेमाको टिमलाई प्रोत्साहन गरे ।

भुवनले विकास बोर्डको तर्फबाट भगवान् बुद्धको मुर्तीसहित सिनेमाको टिमलाई सम्मान गरे । सम्मान कार्यक्रमपछि बोल्दै भुवनले भने–‘मैले सधै नै नेपाली सिनेमालाई विदेशी बजारमा लैजानुपर्छ भनेर सपना देखेको थिएँ । आज प्रेमगीत ३ ले यसको सुरुवात गरेको छ । यसैले, विकास बोर्ड सिनेमाको टिमसँग हरेक समय सधै रहेको जानकारी दिन चाहन्छु । विकास बोर्डले गर्नुपर्ने हरेक प्रकारको सहयोग गर्न हामी तयार छौं ।’

भुवनले नेपालसँग विश्व बजारमा रिलिज हुन लागेको सिनेमाले नेपाली कला, संकृती, भाषाको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले, सिनेमाका निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्कासहितको टिमको कामको खुलेरै प्रशंसा गरे । भारतमा हिन्दी डबमा रिलिज हुन लागेको सिनेमाले नेपालको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बोर्ड अध्यक्षको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै सिनेमाका निर्देशक सन्तोष सेनले विकास बोर्डको प्रोत्साहनले झनै हौसला मिलेको बताए । उनले भने– ‘भोलीका दिनमा हिन्दी भाषामा भारतमा नेपाली सिनेमा चल्ला या नचल्ला त्यो थाहा छैन । तर, आज भारतका चर्चित ट्रेड, युट्युब च्यानलले यहाँको सुन्दरताको बारेमा बयान त गरेका छन् । नेपालको प्रचारमा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

केही सिनेमाकर्मीहरुले अझै पनि आफूहरुले गरेको कामको आलोचना गरेको भन्दै सन्तोषले खुट्टा तान्न भन्दा पनि सहयोग गर्न आग्रह गरे । उनले अगाडि भने–‘केही सिनेमाकर्मीहरुले भारतका ट्रेडहरुलाई पैसा खुवाएर ट्विट गर्न लगाएको समेत भन्नुभएछ । म नेपालका पत्रकार त पैसाले किन्न सक्दिनँ, भारतको सक्छु होला ।’

सिनेमालाई सुरुवातमा टेलिभिजनमा मात्र प्रशारण गर्न सकिन्छ कि भनेर आफू मुम्बई पुगेको भन्दै उनले आजका दिनमा सिनेमा हलमा लाग्न लागेको कुरा आफ्ना लागि सपना जस्तो भएको उनले सुनाए । कार्यक्रममा सिनेमाका मुख्य कलाकार सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी पनि उपस्थित थिए ।

/ सम्बन्धित समाचार /