The Cinemax Hub

फिल्म ‘राधा’को प्रदर्शन रोकिने भएको छ

Facebook
Twitter
WhatsApp

शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘राधा’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले राजधानीका मल्टीप्लेक्सले प्राइम टाइम र पर्याप्त शो नदिएका कारण आजैबाट सिनेमालाई हलबाट उतार्ने घोषणा गर्‍यो ।

निर्मात्री देवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहले चरम विभेद गरेको र सिनेमालाई उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण सिनेमाको प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् । नेपाली सिनेमालाई प्रदर्शकले गरेको विभेद असैह्य रहेको बताउँदै उनले सिनेमा उतार्ने जानकारी हल र वितरक दुवैलाई गराएको बताइन् ।

सिनेमाको बलियो ‘वर्ड अफ माउथ’का कारण सिनेमा हलमा दर्शकहरु आउने क्रम बढेको भए पनि मल्टीप्लेक्सले शो घटाएको निर्मात्री विष्टको आरोप छ । उनले भनिन्, ‘बोल्नेको सिनेमालाई मात्र शो बढाइयो । तर, नबोल्नेलाई शो नै दिइएन । तीजको विदामा सिनेमा हेर्न दर्शक आउने आशा थियो । तर, आजै सिनेमाले राम्रो शो पाएन । अनि, सिनेमालाई उतार्ने निर्णय लिएका हौं ।’

प्रदर्शकहरुबाट अपेक्षित सहयोग नमिलेको बताउँदै निर्देशक सुवर्ण थापाले नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई सिनेमाको प्रदर्शन रोकेको बताए । शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को सिनेमा ‘प्रकाश’लाई पनि सुरुवातमा हलवालाले शो बाँडफाँडमा विभेद गरेपछि सिनेमाको टिमले आक्रोशित हुँदै पत्रकार सम्मेलन गरेको थियो । त्यसलगत्तै सिनेमाले ठूलो मात्रामा शो पाएको थियो ।

तर, ‘राधा’का निर्माता समेत रहेका सौगात र सृष्टि सिनेमाले मल्टीप्लेक्समा कम शो पाएको विषयमा मौनता साँधेर बसे । जसले गर्दा प्रदर्शकलाई दबाब परेन । सिनेमाले शो बाँडफाँडमा विभेद भोगे पनि समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । विशेषगरी अभिनेत्री श्रेष्ठको अभिनयको प्रशंसा भएको छ ।

/ सम्बन्धित समाचार /