

काठमाडौं :
सिनेमा ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ। देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन्।
विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ।’

सिनेमाप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्। उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन्।
‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली फिल्म हो। प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ।
सिनेमा युनिटले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको छ।














