The Cinemax Hub

वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं ।
वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको एक मिनेट पाँच सेकेन्ड लामो टिजर ले फरक स्वादको सिनेमा आउने संकेत दिएको छ। टिजरमा आधुनिक प्रविधि, रहस्यमय कथा र आकर्षक दृश्य प्रभाव देख्न सकिन्छ।

निर्माण टिमका अनुसार चलचित्र आगामी पुष १७ गते (जनवरी १) मा, अंग्रेजी नयाँ वर्षको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ। ‘एक्लो’लाई नियमित नेपाली चलचित्रभन्दा फरक धारको विषयवस्तु र हलिउडस्तरको प्रस्तुति दिने उद्देश्यले तयार गरिएको बताइएको छ।

चलचित्रले यसअघि फ्रान्सको कान्स फिल्म फेस्टिभल मा स्टलमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थितिको पहिचान बनाइसकेको छ। त्यसयता ‘एक्लो’को चर्चा उल्लेखनीय रूपमा बढेको निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्देशन प्रदीप शाही ले गरेका हुन्। बेलायतमा बसोबास गर्दै आएका शाही यसअघि ‘गोर्खा बिनिथ द ब्रेभरी’ र ‘अन्तीम संस्कार’ निर्देशन गरिसकेका छन्, जुन दुवै फिल्म एमेजन प्राइम मा उपलब्ध छन्। उनले ‘एक्लो’लाई उच्चस्तरीय भिजुअल इफेक्टसहितको नेपाली साइ-फाइ फिल्मका रूपमा निर्माण गरिरहेका छन्।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, साथै बेलायती अभिनेता जेमी बेकन को अभिनय रहेको छ।

चलचित्रमा एनआरएन समूहको लगानी रहेको छ भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। साथै, अभिनेता प्रदीप खड्का पनि सह–लगानीकर्ताका रूपमा संलग्न छन्। विदेशमा रहेका नेपालीहरूलाई सिनेमा उद्योगमा संलग्न गराउँदै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना निर्माण पक्षले अघि सारेको छ।

फिल्मको छायांकन बाबु श्रेष्ठ ले गरेका हुन्। द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाइन द्रोण प्रसाद पौडेल ‘ठेउके’ को रहेको छ।

चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, र रिच इन्टरटेनमेन्ट ले गर्ने छन्।
‘एक्लो’ लाई नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिने पहिलो गम्भीर प्रयासका रूपमा हेरिएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /