The Cinemax Hub

‘धागो’को ट्रेलरमा पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

Facebook
Twitter
WhatsApp

काठमाडौं :

भारतको डुवर्सबाट बनेको नेपाली फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको ट्रेलर रिलिज गरेका हुन्।
सार्वजनिक भएको ट्रेलरमा फिल्मको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।

ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता(पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ। गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।

उदिप राणा थापा निर्देशित यो फिल्म नेपाल (भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ भने उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

फिल्मको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। फिल्मको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गरेका हुन्।

आगामी कार्तिक २८ गतेबाट नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

Kumar Acharya

/ सम्बन्धित समाचार /