

काठमाडौं :
सनराइज पिक्चर्स प्रालीले निर्माण गर्न लागेको चलचित्र ‘बाटुलो जून’को शुभसाइत शुक्रबार पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित सम्पन्न भएको छ। धार्मिक कर्मकाण्डपछि फिल्म युनिट औपचारिक रूपमा फ्लोरमा निस्किएको छ।
झण्डै दस वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यस चलचित्रबाट निर्देशनमा पुनरागमन गर्न लागेका हुन्। चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। उनलाई प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन्। भुवन केसी स्वयं पनि प्रमुख भुमिकामै प्रस्तुत हुनेछन्। फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ।

निर्देशक केसीका अनुसार चलचित्र ग्रामिण परिवेशमा आधारित विशुद्ध प्रेमकथामा तयार हुनेछ। निर्माता जीया केसीका अनुसार अनमोल केसीलाई दर्शकले यसअघि देखेको भन्दा विलकुल भिन्न प्रस्तुति, लुक्स र चरित्रमा हेर्नेछन्। “यो नेपाली समाज र अहिलेका युवाको कथा बोल्ने चलचित्र बन्नेमा हामी विश्वासमा छौं,” उनले भनिन्।
‘जेरी अन टप’बाट सफल रुपमा अगाडि बढिरहेकी निर्मात्री भविष्य खड्काले फिल्मको लगानी गुणस्तरमा सम्झौता नगरी आवश्यकतानुसार गर्ने बताइन्।
अनमोल केसीले यस चलचित्रलाई बुबा भुवन केसीले ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’मा देखाएको स्टार पहिचान र अभिनय यात्राको निरन्तरता जस्तै आफूले जिम्मेवारीपूर्वक लिन लागेको प्रतिक्रिया दिए। चरित्र, संवाद र शैलीमा नयाँ रूपमा प्रस्तुत हुने संकेत गर्दै अनमोलले टिमको सहयोगले उत्कृष्ट परिणाम दिन सकिने बताए।
अभिनेत्री प्रिन्सी खतिवडा र नेन्सी खड्काले आफूहरू अनमोलका वर्षौंदेखिका फ्यान रहेको उल्लेख गर्दै एउटै स्क्रिन शेयर गर्न पाउनु गर्व र सिकाइको अवसर भएको बताए।
करिब ४५ कार्यदिनको पहिलो सेड्यूलसहित फ्लोरमा गएको ‘बाटुलो जून’ काठमाडौं, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरासहितका स्थानमा छायांकन हुनेछ। फिल्ममा तेजबिक्सम केसी कार्यकारी निर्माता छन्। लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले गरेका हुन्। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहने फिल्मको छायांकन राजेश श्रेष्ठ तथा कोरियोग्राफी रेनशा वान्तवा राईले गर्नेछन्।
फोटोः उद्धव रसाइली














