

इटहरी/ यसपालीको ‘एसईई’ परीक्षा दिएर बसेका छात्राहरूको फुर्सदिलो समयलाई उपलब्धिमूलक बनाउने उद्देश्यले आयोजना गरिएको सौन्दर्य र बौद्धिकताको संगम ‘मिस एसईई सिजन ६ इटहरी’को ट्यालेन्ट राउन्ड भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालिको आयोजनामा यही शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा उक्त राउन्ड सम्पन्न भएको हो । विद्यार्थीहरूको खाली समयलाई मोबाइल र इन्टरनेटको भर्चुअल दुनियाँबाट बाहिर निकालेर सिर्जनात्मक काममा जोड्ने लक्ष्यका साथ आयोजना गरिएको यस प्रतियोगिताको ट्यालेन्ट राउन्डमा प्रतिष्पर्धीहरूले आ–आफ्नो उत्कृष्ट प्रतिभा प्रस्फुटन गरेका थिए ।
ट्यालेन्ट राउन्डमा सहभागी छात्राहरूले नृत्य, अभिनय, वक्तृत्वकला र पेन्टिङ जस्ता विविध कला प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रतिस्पर्धीका अभिभावकहरूलाई पनि मञ्चमा आफ्ना कुरा राख्ने अवसर दिइएको थियो । सोही क्रममा एक प्रतिस्पर्धीकी आमाले आफ्नी छोरीको तारिफ गर्दै बोल्ने क्रममा आँशु थाम्न नसक्दा माहोल निकै भावुक बन्न पुगेको थियो । आमाको स्नेह र भावुकता देखेर हलमा उपस्थित अधिकांशको आँखा रसाएको थियो, जसले कार्यक्रमलाई केही बेर अर्कै भावनात्मक क्षणमा पुर्याएको थियो ।
प्रतियोगिहरूको प्रतिभा मूल्यांकन गर्नका लागि अनुभवी निर्णायक मण्डलको उपस्थिति रहेको थियो । जसमा मिस एसईई २०२५ की विजेता श्रेयषी भट्टराई, फस्ट रनरअप अदिती गुरागाईं, मिस सुष्मा २०२५ की युना राई र डान्स कोरियोग्राफर मनिष गिरी रहेका थिए । निर्णायकहरूले दिएको अंकका आधारमा उत्कृष्ट हुने एक जनालाई ग्रान्ड फिनालेको दिन ‘मिस ट्यालेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी, कार्यक्रममा हाल प्रदर्शनरत फिल्म ‘रोल नं १’ का मुख्य कलाकारहरू मुकुन भुषाल, शंकर आचार्य र शशांक मैनालीको विशेष उपस्थिति रहेको थियो । उपस्थित कलाकारहरूले सम्पूर्ण प्रतिस्पर्धीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । ओपन स्पेस प्रालिले यसअघि ५ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो कार्यक्रम ताज पहिरिने प्रतिस्पर्धामा मात्र सीमित छैन ।
यसलाई विद्यार्थीहरूको प्रतिभा निखार्ने र उच्च शिक्षामा जानुअघि उनीहरूलाई मानसिक रूपले तयार गर्ने एउटा महत्त्वपूर्ण कार्यशालाको रूपमा अघि बढाइएको छ । कम्पनीकी सिइओ सजिना श्रेष्ठले भनिन्, ‘भोलिको समाज र आफ्नो करियरलाई सही दिशा दिन सक्ने नेतृत्वदायी खुबीको विकास गर्न यो कार्यक्रमले सहयोग पुर्याउनेछ । हजारौंको भिडमा पनि बिना हिचकिचाहट आफ्ना विचार र तर्कहरू स्पष्टसँग राख्न सक्ने क्षमता निर्माण गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’
प्रतिस्पर्धीहरूलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुन व्यावसायिक शैली र हाउभाउको विशेष तालिम दिइएको छ । प्रतियोगितालाई थप स्तरीय र ग्ल्यामरस बनाउन इटहरीस्थित प्रतिष्ठित पाँचतारे होटल ‘रामडा बाइ विन्डहाम’मा विशेष फोटोसुट तथा भिडियोसुट समेत गरिएको छ, जसले सहभागीहरूमा थप ऊर्जा र आत्मविश्वास बढाएको छ । कलिलो उमेरमै आफ्नो क्षमता पहिचान गर्न चाहने छात्राहरूका लागि उत्कृष्ट प्लेटफर्म साबित भएको ‘मिस एसईई सिजन ६ इटहरी’को ग्रान्ड फिनाले यही जेठ २४ गते दुर्गा पार्टी प्यालेसमै आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ बराबरका विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन् ।


















