The Cinemax Hub

प्रचारअघि नै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री

Facebook
Twitter
WhatsApp

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री भएको हो ।

लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए । यो सिनेमाको बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेका छन् ।

अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न प्रस्ताव आएकाले चाँडै टुंगो लाग्ने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए । ‘पेन्सन पट्टा’मा गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित निर्देशक माओत्से गुरुङको पनि लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । विश्वास र मायाले यही सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने विषयवस्तुमा आधारित रहेको निर्देशक तथा निर्माता गुरुङ बताउँछन् ।

मीन कोन्मे गुरुङ (युके), भोजबहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको सिनेमाका प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन् । सुशन प्रजापतिले छायांकन गरेको सिनेमाका कास्टिङ डाइरेक्टर सुरज तमु तथा संगीतकार मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङ रहेका छन् ।

कियर कोइचले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /