The Cinemax Hub

चलचित्र समीक्षा तथा पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु, २५ पत्रकार सहभागी

Facebook
Twitter
WhatsApp

चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी तीन दिने तालिम आइतबारदेखि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सुरु भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको उक्त तालिम जेठ २७ गतेसम्म चल्नेछ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि, समीक्षात्मक लेखन क्षमताको विकास तथा चलचित्रका विविध पक्षबारे व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा २५ जना चलचित्र पत्रकारहरूको सहभागिता रहेको छ।

तालिममा चलचित्रकर्मी तथा प्रशिक्षक राजेश गङ्गाजु, पत्रकार अखण्ड भण्डारी र शान्ताराम बिडारीले प्रशिक्षण प्रदान गर्नेछन्। प्रशिक्षणका क्रममा चलचित्रको इतिहास र विकासक्रम, समीक्षा लेखन, पत्रकारिताका नैतिक पक्ष, डिजिटल युगमा चलचित्र पत्रकारिताको भूमिका तथा चलचित्रका प्राविधिक विषयबारे सहजीकरण गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नरही चलचित्र उद्योगको विकास, प्रवर्द्धन र गुणस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको बताए। उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार समीक्षा तथा विश्लेषणमार्फत चलचित्र पत्रकारहरूले उद्योगलाई सकारात्मक दिशा दिन सक्ने उल्लेख गरे।

अध्यक्ष बलामीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम आवश्यक रहेको बताउँदै चलचित्र पत्रकारितालाई अझ व्यावसायिक, सिर्जनात्मक र विश्वसनीय बनाउन निरन्तर सिकाइ र अभ्यासको आवश्यकता औँल्याए।

आयोजकका अनुसार उक्त तालिमले चलचित्र पत्रकारहरूलाई समीक्षा लेखन, सामग्री उत्पादन तथा चलचित्र क्षेत्रको गहिरो अध्ययनमा थप दक्ष बनाउँदै व्यावसायिक क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /