

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजित ‘तियानतान अवार्ड प्यानोरामा’ कार्यक्रम बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरमा सञ्चालन भएको कार्यक्रममा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित तथा प्रतिस्पर्धामा रहेका ६ चिनियाँ फिल्म प्रदर्शन गरिएका थिए।
कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको सचिवालय तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) को साझेदारीमा आयोजना गरिएको हो। नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौं विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युटले कार्यक्रमलाई सहयोग गरेका थिए।
आयोजकका अनुसार तीन दिनमा भएका ९ वटा शोमा करिब १४ सय दर्शकले विभिन्न विधाका चिनियाँ फिल्म अवलोकन गरेका छन्। दर्शकहरूले यस्ता फिल्महरू नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रमले नेपाल–चीनबीचको चलचित्र आदानप्रदानलाई नयाँ उचाइ दिएको बताए। उनले चिनियाँ फिल्महरू नेपालमा नियमित रूपमा प्रदर्शन हुने र नेपाली चलचित्रहरू पनि चिनियाँ बजारमा विभिन्न माध्यमबाट पुग्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्घाटन फिल्म ‘ट्र्याप्ड’ प्रदर्शनअघि नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पानले चलचित्रलाई भाषा र सीमाभन्दा माथि उठ्ने विश्वव्यापी माध्यमको रूपमा व्याख्या गर्दै यसले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

‘ट्र्याप्ड’का निर्देशक सागर झाङ उद्घाटन सत्रमा स्वयं उपस्थित भई नेपाली दर्शकसँग अन्तरक्रियामा सहभागी भएका थिए। चलचित्रको दृश्यशैलीबारे उठेका जिज्ञासामा उनले यसको चिसो र कठोर वातावरण इटालियन वेस्टर्न सिनेमाबाट प्रभावित रहेको बताए।
कार्यक्रममा ‘ट्र्याप्ड’, ‘बियोन्ड द स्काइज’, ‘समर डायरी’, ‘द स्याडोलेस टावर’, ‘जर्नी टु द वेस्ट’ र ‘लस्ट इन द स्टार्स’ प्रदर्शन गरिएका थिए। यी फिल्महरूले युद्ध, पारिवारिक सम्बन्ध, आत्मखोज, रहस्य, विज्ञान–कल्पना र सस्पेन्स क्राइम जस्ता विविध विषयवस्तु समेटेका थिए।
‘बियोन्ड द स्काइज’ले सन् १९३५ को चिनियाँ गृहयुद्धको पृष्ठभूमिमा एक युवा सैनिकको साहसिक अभियान प्रस्तुत गर्छ भने ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालकको आमाको खोजी यात्रामा केन्द्रित छ। ‘द स्याडोलेस टावर’ एक वृत्तचित्र निर्माताको जीवन संघर्ष र रहस्यमयी सम्बन्धको कथा हो भने ‘जर्नी टु द वेस्ट’ले एलियनको खोजीमा लागेको एक सम्पादकको रोचक यात्रालाई हास्य शैलीमा प्रस्तुत गरेको छ।
त्यसैगरी, ‘लस्ट इन द स्टार्स’ वास्तविक घटनाबाट प्रेरित सस्पेन्स क्राइम फिल्म हो, जसमा हनिमुनका क्रममा हराएकी नवविवाहित महिलाको रहस्यमय घटनाक्रमलाई चित्रण गरिएको छ।
आयोजकका अनुसार चिनियाँ चलचित्रहरूले भौगोलिक सीमाभन्दा पर पुगेर परिवार, आस्था, स्वतन्त्रता र मानवीय सम्बन्धका साझा भावनालाई जोड्ने काम गरिरहेका छन्। आगामी दिनमा ‘तियानतान अवार्ड प्यानोरामा’ विश्वका अन्य सहरहरूमा पनि आयोजना हुने र यसले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।














