

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’को औपचारिक घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको शीर्षक घोषणा गरेको हो।
सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। चलचित्रमा प्रवेश चौधरी र निला देव निर्माताको भूमिकामा छन् भने विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।

निर्देशक सौरभ चौधरीले चलचित्रको भव्यता र कथाको झल्को दिने गरी थिम पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा आगोको लप्का, घोडामा सवार पात्रहरू, राजसी परिवेश र द्वन्द्वको संकेत देख्न सकिन्छ। पोस्टरले कुनै ऐतिहासिक कालखण्ड वा शक्तिसंघर्षमा आधारित कथाको संकेत गरेको छ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यो चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको परियोजनाका रूपमा निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ। पछिल्लो समय एक्सन र मेकिङका कारण चर्चा पाएका निर्देशक सौरभ चौधरीले यसपटक अझै भव्य क्यानभासमा काम गर्न लागेका छन्।
कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र उद्योगकै अहिलेसम्मकै ठूलो स्केलका एपिक एक्सन ड्रामामध्ये एक हुनेछ। उनले चलचित्रको लाइनअप, मेकिङ र प्रस्तुतिका हिसाबले यसलाई विशेष बनाउने तयारी भइरहेको बताए।

निर्माण टिमले हाल निर्देशक, लेखक, निर्माता र डीओपीको नाम सार्वजनिक गरेको छ भने कलाकारको लाइनअप भने केही समयपछि सार्वजनिक गरिने जानकारी दिएको छ।
चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ। अधिकांश छायांकन पूर्वी नेपालमा गरिने र करिब ७० दिनको सेड्युल तय गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन। निर्देशक सौरभ चौधरीले छायांकन र पोस्ट प्रोडक्सनको कामलाई ध्यानमा राखेर मात्र रिलिज मिति घोषणा गर्ने बताएका छन्।
मानकृष्ण महर्जनको डीओपी रहने चलचित्रमा एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। डिजिटल पार्टनरमा ओएसआर डिजिटल, पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो र वितरणको जिम्मेवारी डीसीएनले लिएको छ।
‘द राइज अफ साम्राज्य’ले नेपाली इतिहासको कुनै कालखण्डलाई प्रस्तुत गर्छ वा पूर्ण रूपमा काल्पनिक साम्राज्यको कथा बोकेको छ भन्ने खुल्न बाँकी छ। तर, सार्वजनिक थिम पोस्टर र निर्माण पक्षको दाबीले भने चलचित्रलाई नेपाली फिल्म क्षेत्रको बहुप्रतिक्षित परियोजनामध्ये एक बनाएको छ।

















