

कठमाडौँ। गायक प्रकाश सपुतसँग मिलेर फिल्म ‘बसन्त’का निर्माता तथा उद्यमी मोहन विश्वकर्मा (गुड्डू) ले प्रधानमन्त्री दैवपीडित उद्धार तथा राहत कोषमा ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। भारतको मुम्बईलाई कर्मथलो बनाउँदै आएका विश्वकर्माले आफ्नो व्यक्तिगत तर्फबाट केही रकम र बाँकी रकम साथीभाइहरूबाट संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरिदिएका हुन्।

तनहुँ पुर्ख्यौली घर भई हाल पोखराका स्थायी बासिन्दा रहेका विश्वकर्मा व्यवसायका साथै फिल्म निर्माणमा पनि सक्रिय रहदै आएका छन्। उनले चर्चित गायक तथा निर्देशक प्रकाश सपूतसँग मिलेर पछिल्लो समय ‘बसन्त’ निर्माण गरेका थिए। नेपाली फिल्मलाई भारतीय बजारसम्म पुर्याउने र फराकिलो प्रदर्शन गराउने उद्देश्यका साथ उनले भारतमै आफ्नै चलचित्र कम्पनी पनि खोलेका छन्।
आगामी दिनमा ‘गलबन्दी प्रोडक्सन’सँग मिलेर छिट्टै अर्को नयाँ फिल्म निर्माण गर्ने तयारी गरिरहेकाछन्। संकटको घडीमा देशलाई सघाउने उद्देश्यले संकलन गरिएको यो सहयोग रकमले पीडितहरूलाई राहत पुग्ने विश्वास लिइएको छ।



















