The Cinemax Hub

पूजा शर्मा र अशोक दर्जीको मुख्य भूमिका, शिवमको निर्देशनमा बन्ने ‘सेतो कोट’को शुभमुहूर्त सम्पन्न !

Facebook
Twitter
WhatsApp

मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दै गर्दा नीर शाहले निर्देशन गरे । शोभित बस्नेत क्ल्यापमा हुँदा क्यामेरामा पत्रकार सरिता भारती थिइन् भने नरिवल फुटाउन चर्चित भिलेन सुशान्त श्रेष्ठ थिए । दोस्रो चलचित्रको रूपमा सेतो कोट निर्माण गर्दै गर्दा निर्माता मिनुले आफ्नो पहिलो चलचित्र सफल त भयो तर आफू जहाँको त्यही रहे भन्दै यो चलचित्रले भने आफू समेत सफल हुने अपेक्षा गरेको बताइन् ।


चलचित्रमा डेब्यु गर्दै गरेकी “माइली बुहारी” नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउन भन्दा रुवाउन नै सहज हुन्छ होला भन्दै निर्माताले कुरा गरेर चलचित्रमा जोडिएको बताइन् ।
सेतो रङ्ग अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा अभिनेता नीर शाहको रहेको छ । अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताउँदै गर्दा पूजा शर्माले आफूले कथा खोल्दिन सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन् । निर्देशन गर्न बढी मेहनत गर्नुपर्ने भन्दै स्क्रिप्टकै काममा व्यस्त शिवमले यस पटक समय छुट्टाएर निर्देशन गर्न लागेका रहेछन् ।

चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य चलचित्रको रहेको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर,अशोक, पूजा, सुमित्रा सङै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।
चलचित्रको छायाङ्कन काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। सङ्गीत स्टिभ शङ्करले तयार गर्नेछन्। हेड अफ प्रोडक्सन अरुण रेग्मी, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज, सह निर्देशन दीप्त प्रकाश अधिकारी र एलियास मलिकको रहनेछ।

Kumar Acharya

/ सम्बन्धित समाचार /