

काठमाडौं। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रको जाँचपास प्रक्रिया सम्पन्न भएको छ।
जाँचपास प्रक्रिया पूरा भएका सबै चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। उक्त चलचित्रहरूको जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र श्री उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसीलाई हस्तान्तरण गर्नुभएको हो।
यी चलचित्र यसअघि नै डिजिटाइज गरी चलचित्र विकास बोर्डको सङ्ग्रहालयमा सुरक्षित राखिएको भए पनि जाँचपास प्रक्रिया भने पूरा भएको थिएन। प्रचलित कानुनी व्यवस्थाअनुसार जाँचपास प्रमाणपत्र प्राप्त नगरी कुनै पनि चलचित्रलाई नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइँदैन।

जाँचपास प्रक्रिया सम्पन्न भएसँगै अब यी ऐतिहासिक चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्ने बाटो खुलेको छ।
जाँचपास प्रक्रिया पूरा गरी ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका चलचित्रहरू निम्नानुसार छन् :
१. कुमारी
२. सिन्दुर
३. आमा
४. बदलिँदो आकाश
५. के घर के डेरा
६. शान्तिदीप
७. जीवनरेखा
८. मनको बाँध
९. परिवर्तन
१०. हिजो आज भोलि
उल्लिखित चलचित्रहरू नेपाली चलचित्र क्षेत्रको विकासक्रम, तत्कालीन सामाजिक अवस्था, कला, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माण प्रविधिको अध्ययनका लागि महत्त्वपूर्ण दृश्य–श्रव्य सम्पदाका रूपमा रहेका छन्।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहाससँग सम्बन्धित पुराना तथा दुर्लभ चलचित्रहरूको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण तथा पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।
जाँचपास प्रक्रिया पूरा भएका यी ऐतिहासिक चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउन, नेपाली चलचित्रको इतिहास र विकासक्रमबारे जानकारी गराउन तथा राष्ट्रिय चलचित्र सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरिनेछ।
नेपाली चलचित्रको अमूल्य इतिहासलाई संरक्षण गर्दै भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने चलचित्र विकास बोर्डको अभियानमा यस कार्यले महत्त्वपूर्ण योगदान पुर्याउने बोर्डले विश्वास लिइएको छ।

















