

चितवन । भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ सम्पन्न भएको छ। मंगलबार भएको उक्त प्रिमियरमा चलचित्रका कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर लुक्समै उपस्थित भएका थिए। पर्दामा देखेको उक्त लुक्सलाई आँखै अगाडि देख्दा नीताप्रति दर्शकले माया बर्साएका थिए। चलचित्र हेरेका दर्शकका आँखाभरि आँसु देखिन्थेँ। अधिकांशले आफ्नै घर भित्रको कथा भन्दै सकरात्मक प्रतिक्रिया दिए।

चलचित्र अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा सामाजसँगको संघर्षलाई मुख्य विषयवस्तु हो। यस चलचित्रको प्रिमियरमा उपस्थित सर्वसाधारण दर्शकबाट निर्माण टिमले सकरात्मक प्रतिक्रिया पाएको छ। दिदीलाई घर तथा समाजले गरेको हेलाका बीच पनि भाइले दिदीप्रति देखाएको माया र समर्पणको कथाले दर्शकको मन छोएको निर्दैशक तथा कथाकार नीताले बताईन।
दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष उत्साहित देखिएका छन्। प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो निर्देशन र चलचित्रलाई दर्शकले मन पराइदिएकामा खुसी व्यक्त गरिन्।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि निर्माण टिम र कलाकारहरूको टोली देशका प्रमुख सहरहरूको भ्रमणमा छ। सोही क्रममा मंगलबार चितवन पुगेको टोलीले ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने र हलमा दर्शकको साथ पाउनेमा आफूहरू विश्वस्त रहेको जनाएको छ।
प्रचारप्रसारका क्रममा चितवन पुगेका बालगायक तथा कलाकार अशोक दर्जीले चलचित्रमा काम गर्दाको अनुभव साटेका छन्। उनले यो एक सामाजिक कथामा आधारित चलचित्र भएकाले सबैलाई हेर्न आग्रह गरे। चलचित्रमा दिदीको भूमिकामा नीता ढुङ्गाना र भाइको भूमिकामा अशोक दर्जी रहेका छन्।

निर्देशक नीताको कथा हरिहर अधिकारी निर्माण रहेको यस चलचित्रमा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, र आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ। अब शुक्रबारबाट हलमा लाग्ने यो फिल्मले दर्शकको कस्तो प्रतिक्रिया पाउने हो,त्यतिञ्जेल प्रतिक्षा गरौँ है त।

















