

चलचित्र ‘सारथि’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मङ्सिर ११ गते देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ।
चलचित्र ‘सारथि’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव नायिकाका रूपमा दर्शकमाझ प्रस्तुत हुँदै छन्। यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै चलचित्रमा देख्न पाउनु ‘सारथि’को अर्को विशेष आकर्षण बनेको छ। चलचित्रमा मुकुन्द श्रेष्ठ, राजेन्द्र के.सी., सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मि गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसर अमिर के.सी. हुन्।चलचित्रको छायाङ्कन सङ्कल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ।

मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ रहेका छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त सिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतकार प्रशान्त सिवाकोटी हुन्। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ। ड्रेस कोअर्डिनेटर गोविन्द खड्का हुन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।















