The Cinemax Hub

कुमार गजुरेल निर्देशित सिनेमा ‘सारथी’ को ट्रेलर सार्वजनिक भएको छ 

Facebook
Twitter
WhatsApp

म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथा प्रस्तुत गरिएको छ । जीवनयापनका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको ‘सारथी’ बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्मा को दमदार र भावुक अभिनय देख्न सकिन्छ ।

लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नव अभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरको सुरुवातमै सिनेमाको शीर्षकको अर्थ बुझाउँदै कलाकारहरूको चिनारी गराइएको छ भने ग्रामीण भूमिकामा देखिएका सबै कलाकारहरूको अभिनय निकै स्वाभाविक र जीवन्त देखिएको छ ।

निरुता सिंहले बोलेको ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने भावनात्मक पंक्ति ट्रेलरको मुख्य आकर्षण बनेको छ। यसले सिनेमाको शीर्षकलाई अर्थपूर्ण बनाउँदै सम्बन्ध, साथ र मानवीय संवेदनाको गहिरो भाव बोकेको छ । अभिनेत्री निरुता सिंहको भावपूर्ण कवितावाचनले पनि ट्रेलरलाई विशेष बनाएको छ ।

सिनेमाका निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको यो सिनेमा यही मंसिर ११ गते हलमा प्रदर्शन हुनेछ । सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । सिनेमा संकल्प भुजेलले छायांकन गरेका हुन् ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

सिनेमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /